विनोद थापा - काठमाडौं । समाजलाई भित्रैबाट खोक्रो बनाउँदै लैजाने लागूऔषध र संगठित गुन्डागर्दीविरुद्ध नेपाल प्रहरी निरन्तर अग्रमोर्चामा खटिएको छ। यही अभियानको केन्द्रमा एक नाम दृढताका साथ उभिएको छ-बरिष्ठ सई बालकृष्ण सन्जेल। उनकोको नेतृत्व, प्रतिबद्धता र निडर कार्यशैलीले अपराध नियन्त्रणमा मात्र होइन, सम्पूर्ण प्रहरी संगठनको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
पुस महिनामा सन्जेलको नेतृत्वमा सम्पन्न भएका विशेष अपरेसनहरूले लागूऔषध कारोबारमा संलग्न संगठित गिरोहहरूलाई गम्भीर धक्का दिएको छ। दर्जनौँ अभियुक्त पक्राउ परेका छन् भने लाखौँ मूल्य बराबरका लागूऔषध बरामद गरिएको छ। यी अपरेसनहरू सामान्य प्रहरी कारबाही थिएनन्-यी थिए सूक्ष्म सूचना संकलन, उच्च जोखिम र कडा रणनीतिक योजनामा आधारित साहसिक कदमहरू।
बरिष्ठ सई सन्जेलको विशेषता भनेकै मैदानमै उत्रिएर नेतृत्व गर्ने शैली हो। उनी कागजमा आदेश दिने अधिकृत मात्र होइनन्, अपरेसनको अग्रपंक्तिमा उभिएर सहकर्मीलाई आत्मविश्वास र साहस प्रदान गर्ने कमाण्डर हुन्। यही कारणले उनी मातहतका प्रहरीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। एक सहकर्मीका शब्दमा, “उहाँसँग काम गर्दा डर होइन, जिम्मेवारीको बोध हुन्छ।”
लागूऔषधसँगै गुन्डागर्दी, अवैध धन्दा र आपराधिक सञ्जालविरुद्ध पनि सन्जेलको भूमिका निर्णायक देखिएको छ। धम्की, दबाब र प्रलोभनहरूका बीच पनि उनी कानुनको बाटोबाट एक पाइला पनि पछि हटेका छैनन्। अपराधमा संलग्न जोसुकै भए पनि-कानुन सबैका लागि समान हो भन्ने सन्देश उनले आफ्ना कामबाट स्थापित गरेका छन्। यही अडानले समाजमा शान्ति-सुरक्षाको अनुभूति बढाएको छ भने अपराधी वृत्तमा कानुनप्रतिको डर पुनः स्थापित भएको छ।
आज लागूऔषधको दलदलमा फस्दै गएको युवापुस्तालाई जोगाउने सवालमा सन्जेलको योगदान उल्लेखनीय छ। उनका अपरेसनहरू केवल पक्राउ र बरामदगीमा सीमित छैनन्; यी कार्यहरूले समाजमा स्पष्ट सन्देश प्रवाह गरेका छन्- राज्य मौन छैन, नेपाल प्रहरी सजग र सक्षम छ।
पुस महिनाको उत्कृष्ट प्रहरी सम्मान उनको सेवाप्रतिको औपचारिक मान्यता हो। तर सन्जेलका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको अपराध नियन्त्रणमार्फत समाजमा कायम भएको विश्वास र सुरक्षाको अनुभूति हो। उनको कार्यशैलीले प्रमाणित गरेको छ कि इमानदारी, साहस र पेशागत निष्ठा भए एक व्यक्तिले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।
बरिष्ठ सई बालकृष्ण सन्जेल आज केवल एक प्रहरी अधिकृत होइनन्उ-नी कानुनको प्रतीक,शान्ति सुरक्षाका संरक्षक,र अपराधविरुद्ध अडिग योद्धाका रूपमा स्थापित हुँदै गएका छन्।
उनको निरन्तर संघर्षले नेपाल प्रहरीको छवि अझ सशक्त बनाउँदै समाजलाई सुरक्षित भविष्यतर्फ डोर्याइरहेको छ।