ट्राफिक व्यवस्थापनका लागि नयाँ बसपार्कमा 'नागरिक सुनुवाइ': एसएसपी नवराज अधिकारीद्वारा सडक सुरक्षामा जोड

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको प्रमुख आतिथ्यमा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी 'नागरिक सुनुवाइ' तथा 'अन्तरक्रिया कार्यक्रम' सम्पन्न भएको छ। ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा भएको उक्त कार्यक्रममा यातायात व्यवसायी, चालक, सह-चालक र स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी अधिकारीले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना मात्र नभई सडक प्रयोगकर्ताहरूको सचेतना पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। नागरिक सुनुवाइका क्रममा सरोकारवालाहरूले उठाएका जिज्ञासाको सम्बोधन गर्दै उहाँले प्राप्त सुझावहरूलाई ट्राफिक व्यवस्थापनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षाका विद्यमान चुनौतीहरू पहिचान गर्नु, अव्यवस्थित पार्किङ र जामको समस्या समाधानका उपायहरू खोज्नु र सवारी दुर्घटना कम गर्न सरोकारवालाहरूबीच समन्वय बढाउनु रहेको ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ।


प्रतिक्रिया