रणनीतिबाट कार्यान्वयनतर्फ नेपाल प्रहरीः दुईदिने राष्ट्रिय रणनीतिक सम्मेलन सम्पन्न

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौं, माघ २७ -नेपाल प्रहरीको भावी कार्यदिशा, रणनीति र संस्थागत सुधारलाई केन्द्रमा राख्दै प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पन्न ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन-२०८२’ ले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बनाउने स्पष्ट सन्देश दिएको छ।

आइतबार सुरु भई सोमबार सम्पन्न दुईदिने सम्मेलनमा प्रहरी व्यवस्थापन, परिचालन, अपराध नियन्त्रण, प्रविधि प्रयोग, मानवस्रोत व्यवस्थापन, विपद् उद्धार, सडक सुरक्षा तथा नागरिक–प्रहरी सम्बन्ध जस्ता समसामयिक र संवेदनशील विषयमा गहन छलफल र अन्तरक्रिया गरिएको थियो।

सम्मेलनमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा परिदृश्य, अपराधका पारम्परिकदेखि नवीनतम प्रवृत्ति, विरोध प्रदर्शन व्यवस्थापन, तथा विश्वास, सहकार्य र सुधारमार्फत नागरिक–प्रहरी सम्बन्ध रूपान्तरण गर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको थियो।

एआई, साइबर अपराध र प्रविधि चुनौतीमा प्रहरी रणनीति

सूचना प्रविधि, सञ्चार र कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगसँगै उत्पन्न नयाँ प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका चुनौतीबारे विषय विज्ञ र प्रहरी अधिकारीबीच विस्तृत छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साथै, विपद् व्यवस्थापनमा प्रथम उद्धारकर्ता को रूपमा नेपाल प्रहरीको भूमिका अझ प्रभावकारी बनाउने विषयमा समेत रणनीतिक सुझाव प्रस्तुत गरिएका छन्।

बौद्धिक वृत्त र नागरिक सहभागितामा जोड

सम्मेलनले प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयनयोग्य कार्ययोजना निर्माणका लागि बौद्धिक वृत्त, नागरिक तह र सरोकारवालाको सहभागिता अनिवार्य रहेको निष्कर्ष निकालेको छ।

यस क्रममा संगठन सञ्चालनको अवस्था समीक्षा गर्दै कार्यकुशलता, प्रभावकारिता र सेवा प्रवाह सुधारका ठोस उपाय पहिचान गरिएको छ।

आईजीपी कार्कीः “सम्मेलनले प्रहरीको आगामी बाटो तय गर्न निर्णायक मार्गदर्शन दिएको छ”

समापन सत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले सम्मेलनमा सहभागीहरूको व्यावसायिक अनुभव, ज्ञान र सुझावले नेपाल प्रहरीको आगामी नीति, रणनीति र कार्यदिशा निर्धारणमा महत्वपूर्ण पृष्ठपोषण दिएको बताए।

उनले प्रविधिमार्फत सिर्जित अपराध, साइबर चुनौती र अनुसन्धानमा देखिएका जटिलता समाधान गर्न नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अपराध नियन्त्रणमा नागरिकको रचनात्मक सहयोग अपरिहार्य रहेको स्पष्ट पारे।

आईजीपी कार्कीले सम्मेलनबाट प्राप्त सुझावहरू नीति निर्माण, क्षमता अभिवृद्धि, प्रशिक्षण तथा वृत्तिविकासका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे।

मिडिया-प्रहरी अन्तरक्रिया: गलत सूचना र एआई दुरुपयोगप्रति चिन्ता

यसैबीच, सोमबार प्रहरी प्रधान कार्यालयमा ‘अपराध अनुसन्धान र शान्तिसुरक्षामा सञ्चारमाध्यमको भूमिका’ विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो।

कार्यक्रममा आईजीपी कार्कीले सञ्चारमाध्यमलाई लोकतन्त्रको मेरुदण्ड, सूचनाका संवाहक र राज्य-नागरिकबीचको पुल को रूपमा उल्लेख गर्दै, कुनै पनि घटनाबारे जनधारणा निर्माणमा मिडियाको भूमिका निर्णायक हुने बताए।

उनले डिजिटल युगमा मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, डिपफेक, एआईको दुरुपयोग र डिजिटल म्यानिपुलेसन बाट फैलिने झुटो सामग्रीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, सत्य, सन्तुलित र जिम्मेवार सूचनाको आवश्यकता औंल्याए।

रणनीतिक सम्मेलन र सञ्चारमाध्यमसँगको अन्तरक्रियाले नेपाल प्रहरीलाई संस्थागत रूपमा सबल, प्रविधिमैत्री, पारदर्शी र नागरिक विश्वासमा आधारित संगठन बनाउने दिशामा महत्वपूर्ण ऊर्जा प्रदान गरेको छ।

यसले शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहमा नयाँ विश्वास र प्रभावकारिता थप्ने अपेक्षा गरिएको छ।-रासस

प्रतिक्रिया