प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन, भोलिदेखि देशभर तैनाथ

ecopolinews.com

काठमाडौं, माघ २० । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सरकारले भोलि माघ २१ गतेदेखि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुसार मुलुकभर बुधवारदेखि सेना तैनाथ गर्न लागिएको हो।

निर्वाचन सुरक्षार्थ सरकारले ७९ हजार ७२७ जना नेपाली सेना परिचालन गर्ने जनाएको छ। हाल सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका सार्वजनिक भवन, कारागार तथा अन्य संवेदनशील स्थानमा पनि आवश्यकतानुसार नेपाली सेनाले सुरक्षा जिम्मेवारी सम्हाल्नेछ।

निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको सिफारिसपछि ११ मङ्सिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिइसकेका थिए। सोही निर्णयको कार्यान्वयनस्वरूप निर्वाचन मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था थप कडा बनाइएको हो।

सुरक्षा निकायका अनुसार निर्वाचनलाई लक्षित गर्दै देशभर गस्ती, पेट्रोलिङ तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाअनुसार संयुक्त गस्ती सञ्चालन गरिनेछ। यसले सम्भावित जोखिम न्यूनीकरण गर्दै मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सेनासँगै अन्य सुरक्षा निकायको पनि व्यापक परिचालन हुने भएको छ। नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना खटाइने छन् भने प्रहरी मातहत रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन गरिनेछ। सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ जना सशस्त्र प्रहरी र उनीहरूकै मातहत १५ हजार ११० निर्वाचन प्रहरी खटिनेछन्। साथै, निर्वाचन सुरक्षामा १ हजार ९२१ गुप्तचर पनि परिचालन हुने बताइएको छ।

सरकारले बहु-निकाय समन्वयमा सुरक्षा व्यवस्था मिलाउँदै निर्वाचनलाई भयमुक्त, व्यवस्थित र विश्वसनीय बनाउन सबै तयारी तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया