इलाम, असोज १९ । अविरल वर्षापछि गएको भीषण पहिरोले इलाम जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। शनिबार राति विभिन्न स्थानमा गएको पहिरोमा परेर ३७ जनाको मृत्यु भएको र १ जना बेपत्ता रहेको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पुष्टि गर्नुभएको छ।
इलाम नगरपालिका–घोसमा मात्रै ६ जनाको ज्यान गएको छ भने अन्य स्थानहरूमा पनि व्यापक क्षति भएको छ।
देउमाई नगरपालिका धुसेनीमा २
धारेमा १
सन्दकपुर गाउँपालिका छाँगेमा १
माइजोगमाई गाउँपालिका प्याङमा ४
माङसेबुङ गाउँपालिका पाटीगाउँमा ३
फाकफोकथुम गाउँपालिका रातमाटेमा १
सूर्योदय मानेभञ्ज्याङमा ५
सन्दकपुर गाउँपालिका सुलुबुङमा १ जनाको मृत्यु भएको जनप्रतिनिधि र स्थानीय स्रोतहरूले जनाएका छन्।
त्यस्तै, माङसेबुङ गाउँपालिकामा २ जना गम्भीर घाइते भएका छन्। पहिरोले दर्जनौं घरहरूमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाढी र पहिरोको जोखिम अझै कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, इलामले सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी नेपालले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाउने आदेश जारी गर्नुभएको हो।
सूचनामा भनिएको छ — “राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जानकारीका आधारमा इलाम जिल्ला अझै उच्च जोखिममा रहेको हुँदा सम्भावित विपद्जन्य क्षति न्यूनीकरणका लागि अर्को सूचना जारी नभएसम्म लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।”
स्थानीय निकाय, सुरक्षा निकाय र उद्धार टोलीहरू अहिले प्रभावित क्षेत्रमा परिचालित छन्। राहत तथा उद्धार कार्य तीव्र पारिएको प्रशासनले जनाएको छ।