कटहरीमा घरेलु विवादबीच महिलाद्वारा पतिको गोप्य अङ्गमा हतियार प्रहार

ecopolinews.com

मोरङ, असोज २८ — मोरङको कटहरी गाउँपालिका–२ मा एक महिलाले आपसी विवादका क्रममा आफ्नै पतिको गोप्य अङ्ग काटिदिएकी छन्।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार जहदा गाउँपालिका–३ का स्थायी बासिन्दा ३२ वर्षीय पुरुष (थर कामत, नाम गोप्य) र उनकी ३० वर्षीया पत्नी बीच सोमबार राति झगडा भएको थियो। विवाद चर्किएपछि महिलाले धारिलो हतियार प्रयोग गरी पतिको लिंगमा प्रहार गरेकी हुन्।

प्रहरीका सूचना अधिकारी डिएसपी कोपिला चुँडालका अनुसार, धारिलो हतियारको प्रहारबाट पुरुषको गोप्य अङ्ग आधा छिनिएको छ। हाल पीडितको कोशी अस्पतालमा उपचार भइरहेको छ भने महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

“घटनाको कारण पहिचान गर्न अनुसन्धान भइरहेको छ,” डिएसपी चुँडालले बताइन्।

उनीहरू केही समयदेखि कटहरी गाउँपालिका–२ मा डेरामा बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, घटना आपसी पारिवारिक विवादबाट उत्पन्न भएको आशंका गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया