निर्वाचन सुरक्षामा कडा पहरा: काठमाडौंमा कुकुरसहितको संयुक्त गस्ती तीव्र

ecopolinews.com

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्तीलाई तीव्र बनाएको छ। जिल्ला सुरक्षा समिति तथा प्रहरी परिसर काठमाडौंको निर्णयअनुसार राति र बिहानको समयमा विशेष सुरक्षा अपरेसन सुरु गरिएको हो।

प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार लागुऔषध तथा विस्फोटक पदार्थको पहिचान र नियन्त्रणलाई मुख्य लक्ष्य बनाएर कुकुरसहितको चेकजाँच अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै विभिन्न स्थानमा ‘सरप्राइज’ चेकजाँचसमेत जारी रहेको जानकारी दिए।

सुरक्षा जाँचका क्रममा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धानपछि आवश्यक कारबाही वा रिहाइ गर्ने प्रक्रिया अपनाइएको प्रहरी प्रमुख थापाले स्पष्ट पारे। साथै, संवेदनशील क्षेत्रहरूमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको समन्वयमा संयुक्त गस्ती सञ्चालन गर्दै विभिन्न रुट निर्धारण गरी एकीकृत सुरक्षा अभियान अघि बढाइएको उनले बताए।

निर्वाचनविरोधी गतिविधि तथा निर्वाचन बिथोल्न सक्ने सम्भावित समूह र शक्तिबारे सूचना संकलन गरी त्यसैअनुसार सुरक्षा निकाय परिचालन गरिएको जनाउँदै प्रहरी प्रमुख थापाले राजधानीको सुरक्षा संयन्त्र पूर्ण रूपमा सतर्क र सक्रिय अवस्थामा रहेको उल्लेख गरे।

उनका अनुसार कडा निगरानी, समन्वयात्मक गस्ती र सूचनामा आधारित सुरक्षा रणनीतिले निर्वाचनलाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया