जेन–जी आन्दोलनले पर्सामा अर्बौँको क्षति, सरकारी–निजी संरचना ध्वस्त

ecopolinews.com

पर्सा । जेन–जी आन्दोलनको क्रममा पर्सा जिल्लामा मात्रै अर्बौँ बराबरको क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारी तथा निजी संरचना ध्वस्त भएका हुन् ।

स्थानीय प्रशासनले संकलन गरेको विवरणअनुसार, पूर्व मन्त्री राजकुमार गुप्ता र अजयकुमार चौरसियाको घर पूर्णरूपमा क्षति भएको छ भने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पूर्व मन्त्री प्रदिप यादव, संविधानसभा सदस्य तथा व्यापारी अनिल रुंगटा, पूर्व मुख्यमन्त्री लालबाबु राउत र जिरा भवानी गाउँपालिकाका अध्यक्ष अनुप तिवारीको घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै, कांग्रेस र एमाले पार्टी कार्यालय, मधेश प्रदेशका कृषिमन्त्री जनाद्र्धन सिंह क्षेत्रीको घर, आन्तरिक राजश्व कार्यालय, नेपाल टेलिकम, वीरगञ्ज महानगरपालिका, वीरगञ्ज कारागार, बाध सुधार गृह, उच्च अदालत अस्थायी इजलाससहितका कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।

नेपाल टेलिकम वीरगञ्जले करिब ३ करोड बराबरको क्षति भएको जनाएको छ भने वीरगञ्ज महानगरपालिकाले मात्रै १ अर्ब ११ करोड नोक्सानी भएको विवरण सार्वजनिक गरेको छ । नगर प्रमुख राजेशमान सिंहले आन्दोलनका नाममा अराजक समूहले क्षति पुर्याएको दाबी गर्दै युवाहरुको जायज मागप्रति आफूहरु सकारात्मक रहेको तर हिंसात्मक गतिविधि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

आन्दोलनका क्रममा ९ वटा प्रहरी बिटमा क्षति पुगेको छ भने १५ जना सुरक्षाकर्मी घाइते भएपनि सबैको अवस्था सामान्य रहेको जनाइएको छ । कैदीबन्दीलाई फरार हुन नदिएको सुरक्षाकर्मीको सतर्कतालाई ठूलो उपलब्धि मानिएको छ । यद्यपि, बालसुधार गृहबाट भागेका १४६ मध्ये ८८ जना मात्र नियन्त्रणमा आइसकेका छन् ।

हालसम्म पूर्ण क्षतिको विवरण आइसकेको छैन, संकलन कार्य जारी रहेको पर्सा प्रहरीले जनाएको छ । यद्यपि, भौतिक संरचनामा ठूलो नोक्सानी भएपनि मानवीय क्षति नहुनु राहतको विषय बनेको छ ।

प्रतिक्रिया