काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। निर्वाचन सुरक्षाका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना २०८२ सरकार र राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार सो योजनाअनुसार निर्वाचनको एक महिना अघिदेखि नै सेना फिल्डमा परिचालित हुनेछ। राष्ट्रिय सुरक्षा परिषद्बाटसमेत सेनाको परिचालन स्वीकृत भइसकेको छ।
निर्वाचन सुरक्षामा सेनाले तीन चरणमा जिम्मेवारी सम्हाल्नेछ।
निर्वाचनपूर्व: मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार र अन्य महत्वपूर्ण संरचनाको सुरक्षा।
मतदानका दिन: निर्वाचनस्थल र केन्द्रमा तेस्रो घेराको सुरक्षा प्रदान गर्दै राजनीतिक दल, उम्मेदवार, मतदाता र कर्मचारीको सुरक्षामा पूर्ण प्रत्याभूति।
निर्वाचनपश्चात्: मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षा।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको घनिष्ठ समन्वयमा चारै सुरक्षा निकाय, जिल्ला प्रशासन र स्थानीय तहसम्म एकीकृत तालिम तथा अभ्यास सञ्चालन गरिनेछ। यसले कुनै पनि जोखिमलाई समयमै पहिचान र नियन्त्रण गर्न सहयोग पुर्याउने सेनाको विश्वास छ।
विगतका निर्वाचनझैं यसपटक पनि देशका विभिन्न स्थानमा सुरक्षा बेस (वेश) स्थापना गरिनेछ। साथै, प्रदेशस्तरमा भइरहेको सुरक्षा गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्यांकन गर्दै सरकारले थप सुरक्षा प्रबन्ध मिलाउने तयारी गरेको छ।
नेपाली सेनाले सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिसँगको समन्वय र सहकार्यमार्फत निर्वाचन सुरक्षा राज्यको प्राथमिक कार्यभारका रूपमा सफलतापूर्वक पूरा गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।