नाइजेरियामा बोको हरामको भीषण आक्रमण

ecopolinews.com

काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी दारुल जमाल गाउँमा आतंककारी समूह बोको हरामले शुक्रबार राति गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । उनीहरूले नाइजेरिया–क्यामरुन सीमास्थित एक सैन्य अड्डा पनि आक्रमण गरी पाँच सैनिकलाई हत्या गरेका छन्।

यसअघि विस्थापित शिविरबाट फर्किएका गाउँलेहरूलाई लक्षित गर्दै गरिएको यस आक्रमणपछि गाउँमा करिब २० घर जलाइएका र दश घर तोडफोड गरिएको छ। १०० भन्दा बढी स्थानीय बासिन्दा आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्।

नाइजेरियाली वायु सेनाले आक्रमणपछि हवाई कारबाही गर्दा ३० जना लडाकु मारिएको जनाएको छ। बोर्नो राज्यका गभर्नर बाबागाना जुलुमले शनिबार साँझ घटनास्थलको निरीक्षण गर्दै मृतकको संख्या ६० भन्दा बढी रहेको पुष्टि गरेका छन्।

सन् २००९ देखि सक्रिय रहेको बोको हरामले पश्चिमी शिक्षाको विरोध र कठोर इस्लामी व्यवस्था लागू गर्ने उद्देश्यले हिंसा थालेको हो। संयुक्त राष्ट्रका अनुसार, यो संघर्षमा अहिलेसम्म करिब ३५ हजार नागरिकको ज्यान गइसकेको र २० लाखभन्दा बढी विस्थापित भएका छन्।बीबीसी

प्रतिक्रिया